बीरगन्ज,०७ कात्तिक । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानमा गरेको चेकजाँच क्रममा भारतबाट भन्सार छली ल्याइएका करिब नौ लाख १४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सिम्रौनगढ नगरपालिका–९ झरोखर क्षेत्रमा सशस्त्र प्रहरी बल गोलागंज बिओपीबाट खटिएको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरिएको किराना सामग्री बरामद गरेको हो। बरामद सामान र मोटरसाइकल सहितको मूल्य चार लाख ६ हजार ७३० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, देवताल गाउँपालिका–२ पसाहा खोला क्षेत्रमा गरिएको गस्तीका क्रममा अर्को टोलीले कपडा, चप्पल र मोटरसाइकल गरी करिब तीन लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।
त्यसैगरी, पचरौता नगरपालिका–३ रामनगर वैरिया, कलैया–१० मटिअर्वा र फेटा गाउँपालिका–४ बतरा फेटा क्षेत्रबाट पनि सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याइरहेका कपडा, मोटरसाइकल र अन्य सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा उपरीक्षक खुमबहादुर के.सी.का अनुसार बरामद सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने प्रक्रिया सुरु गरिएको छ ।



