spot_img

सर्लाहीमा वडाध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट

spot_img
spot_img

सर्लाही,०७ कात्तिक । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–१ मा वडा अध्यक्षकै नेतृत्वमा एक युवा कुटपिटमा परेका छन्। वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो र उनका आफन्त तथा सहयोगीहरूले किसनपुर निवासी विवेकानन्द गुप्तामाथि सामूहिक आक्रमण गरेको स्थानीयहरूले बताएका छन्।

स्थानीयका अनुसार अध्यक्ष महतो पक्षले आइतबार राति गुप्ताको घरमै पुगेर उनलाई घेराउ गर्दै कुटपिट गरेका थिए। घटनापछि गाउँमा एकछिन तनावपूर्ण स्थिति बनेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरीको टोली पुगेसँगै अवस्था नियन्त्रणमा आएको थियो।

प्रहरी प्रवक्ता सरोज राईका भनाइमा, वडा अध्यक्षको समूहले युवाको घरमै पुगेर कुटपिट गर्न खोजेपछि परिस्थिति बिग्रिएको बुझिएको छ। यता, वडा अध्यक्ष महतोले आफू गाउँमा नरहेको भन्दै कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्।

घटना वडा कार्यालयको मोटरसाइकल प्रयोगसम्बन्धी विवादबाट सुरु भएको बताइएको छ। गत कार्तिक २ गते वडा सचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले आफ्नो व्यक्तिगत प्रयोजनका लागि बिना जानकारी लगेको आरोप लागेको थियो।

त्यसपछि केही जेन–जी युवाले सामाजिक सञ्जालमा ‘वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि विवाद चर्किएको हो। यही पोस्टको प्रतिशोधमा विवेकानन्द गुप्तामाथि कुटपिट भएको युवाहरूको भनाइ छ।

वडा कार्यालयका सहयोगी पशुपति महतोका अनुसार घटनाको राति करिब १० बजे कार्यालय खोल्दा अध्यक्षले लगेको मोटरसाइकल फर्काइएको अवस्थामा फेला परेको थियो। वडा सचिव लुइँटेलले पनि घटना पुष्टि गर्दै भने, “बिना अनुमति मोटरसाइकल लैजानु चोरी नै हो।”

घटनापछि जेन–जी समूहका नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्षविरुद्ध प्रदर्शन गर्दै कारबाहीको माग गरेका छन्। उनीहरूले ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्दै नाराबाजी समेत गरेका थिए।

घाइते विवेकानन्द गुप्ताले भने, “मैले लगातार वडा अध्यक्षको अनियमितता विरुद्ध आवाज उठाउँदै आएको थिएँ, त्यसकै कारण मलाई लक्षित गरेर कुटपिट गरिएको हो।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय