spot_img

पर्साको ठोरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

spot_img
spot_img

पर्सा — पर्साको ठोरी गाउँपालिकामा शनिबार राति भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। ठोरी गाउँपालिका–५ ठुलोबाघमोर्चाका फुर्बा लोप्चनको ट्याङ्करको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुर्घटना हुलाकी राजमार्ग अन्तर्गत ठोरी–४ को मालीवस्ती र गोपीवस्तीको बीचभागमा राति करिब ९ बजेतिर भएको हो। लोप्चन मोटरसाइकलमा ठोरी–४, आठघरबाट आफ्नो गाउँ ठोरी–५, ठुलोबाघमोर्चा फर्किँदै गरेका थिए।

ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनका अनुसार ना ७ ख २१७८ नम्बरको तेल बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार फुर्बा लोप्चनलाई ठक्कर दिएर फरार भएको थियो।
उनका अनुसार, “घटनास्थलमा फेला परेको ट्याङ्करको इन्डिकेटर लाइट र ट्याङ्करमै लागेको रगतका दागले ठक्कर दिएको पुष्टि भएको हो।”

दुर्घटनापछि फरार भएको उक्त ट्याङ्करलाई इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षकको टोलीले नियन्त्रणमा लिएको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ।

घटनापछि मृतक लोप्चनको शवलाई राति नै वीरगञ्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको र चालकको पहिचान र उद्दारमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयवासीहरूले घटनाप्रति दुख व्यक्त गर्दै हुलाकी राजमार्गमा रातिको समयमा भारी सवारी साधनहरूको अनियन्त्रित गति र अपर्याप्त सडक बत्तीका कारण दुर्घटना बढेको बताएका छन्। ठोरी क्षेत्रलाई भारतसँग जोड्ने यो सडकमा दैनिक तेल ट्याङ्कर, ट्रक र मालवाहक गाडीहरूको आवागमन धेरै हुने गर्दछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय