काठमाडौं,९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कात्तिक २० गते काठमाडौंमा आयोजना हुने बृहत् आमसभामा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्वाधीनता र समाजवादका पक्षमा उभिन आग्रह गर्दै देश परिवर्तनको जिम्मेवारी नेपालीकै हातमा रहेको बताएका छन्।
विप्लवले लेखेका छन्, “नेपाललाई अरूले होइन, हामी आफैंले फेर्ने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर र दलालहरू समाप्त हुनेछन्, तब देशले आत्मसम्मानका साथ उन्नति गर्नेछ।”
उनका अनुसार कात्तिक २० गतेको आमसभा स्वाधीनता र समाजवादप्रति प्रतिबद्धता प्रदर्शन गर्ने अवसर हुने बताइएको छ। नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा संघर्ष कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो।



