काठमाडौँ — सरकारले जेन–जी पुस्ताको आन्दोलनका क्रममा २३ र २४ भदौमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँ दरले आर्थिक सहायता वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ।
सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, कारागार फोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट मृत्यु भएका र शव पहिचान नखुलेका मृतकका परिवारलाई राहत दिइएको छैन। अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।
आचार्यले भने, “२३ र २४ भदौमा ज्यान गुमाएका मृतकका परिवारलाई ‘सहिद सरह’ राहत उपलब्ध गराइएको हो। सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको छ।”
प्रहरी तथ्यांकअनुसार, जेन–जी आन्दोलन र त्यसपछिका हिंसात्मक प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको थियो। २३ भदौमा काठमाडौं र सुनसरीमा २२ जनाको मृत्यु भएको थियो भने २४ भदौमा र उपचारका क्रममा थप केहीको ज्यान गएको थियो।
त्यसैगरी, कारागार वा बन्दीगृहबाट भाग्ने क्रममा १० जना कैदीबन्दीले ज्यान गुमाएका थिए भने प्रदर्शनकारीको कुटाइबाट ३ जना प्रहरी पनि मारिएका थिए। काठमाडौं, विराटनगर र इटहरीका भवनमा आगलागी हुँदा जलेर १३ जनाको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन।
गृह मन्त्रालयले उल्लेख गरेको छ कि पहिचान नखुलेका बाँकी मृतकको ज्यान आन्दोलनकै क्रममा गएको पुष्टि भएमा त्यसबेला उचित निर्णय गरिनेछ।



