सिन्धुली, ११ कात्तिक — सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बिपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई करिब ४२ फिट तल खस्दा चालक विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उनका श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल गम्भीर घाइते भएका छन्। सुनिताको दाहिने हातसहित शरीरका विभिन्न भागमा चोट लागेको छ भने निशान्त पनि घाइते अवस्थामा रहेका छन्।
घाइते दुवैजनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
दुर्घटनाको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।




