तनहुँ, ११ कात्तिक — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज बिहान एक माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०९३७ नम्बरको माइक्रो बस चालकले नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको थियो। त्यस क्रममा माइक्रो सडक किनारमा पार्क गरिएको नेपाल विद्युत् प्राधिकरणको बा.१ञ. १२८७ नम्बरको गाडीमा समेत ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा माइक्रो चालक लमजुङ बेँसीसहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठसहित १४ जना सवार घाइते भएका छन्। घाइतेहरूमा चितवन, लमजुङ र नवलपुरका महिला, पुरुष तथा बालबालिका रहेका छन्।
घाइतेहरूमध्ये शान्तामाया तामाङ, बुधमाया तामाङ, कमई तामाङ, गङ्गाबहादुर तामाङ, होमकुमारी तामाङ, रश्मी तामाङ, डोलराज तामाङ, गङ्गा तामाङ, मैतीमाया तामाङ, इन्द्रकुमारी तामाङ, गममाया तामाङ, मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ रहेको प्रहरीले जनाएको छ।
सर्वै घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।




