spot_img

मुस्ताङमा वर्षासँगै हिमपात, प्रशासनले यात्रु र पर्यटकलाई सतर्क रहन आग्रह

spot_img
spot_img

मुस्ताङ — मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्र र वरपरका डाँडाकाँडामा आज बिहानैदेखि वर्षा र हिमपात भइरहेको छ। लगातारको हिमपातका कारण पहाडी भू–भाग सेताम्मे देखिएका छन् भने मुक्तिनाथ दर्शनका लागि पुगेका तीर्थयात्री र पर्यटकहरूको यात्रा प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले पर्यटक र यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनका अनुसार हिमपात र प्रतिकूल मौसमका कारण पदमार्गहरू चिप्ला र जोखिमपूर्ण बनेका छन्।

मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने, “हाल मुस्ताङका उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ, त्यसैले पर्यटक र पदयात्रीहरूलाई सावधानी अपनाउन आग्रह गरिएको हो।”

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म मुस्ताङ–डोल्पा, याकखर्क (५८०० मिटर), थोरङ्ला पास (५४०० मिटर), सरिबुङ पास (६००० मिटर) र धम्पुस पिकलगायतका क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने सम्भावना छ।

प्रशासनले ती क्षेत्रमा यात्रा नगर्नु वा अत्यावश्यक अवस्थामा मात्र स्थानीय प्रशासन र गाइडको सल्लाहमा यात्रा गर्न सुझाव दिएको छ। साथै, मौसम पूर्वानुमान हेरीमात्र यात्रा योजना बनाउन, न्यानो लुगा र आवश्यक उपकरणसहित मात्र पदयात्रा गर्न पर्यटकहरूलाई अनुरोध गरिएको छ।

यात्रुका लागि सुझाव:

  • हिमाली क्षेत्र जानुअघि मौसम पूर्वानुमान अनिवार्य रूपमा जाँच गर्नुहोस्।
  • स्थानीय प्रशासन वा गाइडसँग सम्पर्कमा रहनुहोस्।
  • पर्याप्त न्यानो लुगा र सुरक्षात्मक सामग्री साथमा लिनुहोस्।
  • जोखिमपूर्ण पदमार्गमा यात्रा नगर्नुहोस्।
spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय