कलैया । बारामा छठ पूजा हेर्न जान्छु भनी घरबाट निस्केका एक युवक मृत अवस्थामा फेला परेका छन्। महागढीमाई नगरपालिका–५, बगडमपुरका १९ वर्षीय भोला सहनीको शव मंगलबार एक पोखरीमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ।
परिवारका अनुसार भोला सोमबार साँझ “छठ पूजामा जान्छु” भन्दै घरबाट निस्केका थिए। तर, उनी रातभर घर फर्किएनन्। परिवारले रातभरि खोजी गर्दा पनि फेला नपरेपछि मंगलबार बिहान उनका बुबा ध्रुव सहनीले छोरा हराएको भन्दै गंजभवानिपुर प्रहरी चौकीमा जानकारी गराएका थिए।
प्रहरी नायब निरीक्षक बालराज गिरिको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको बाँसघारीमा भोलाका व्यक्तिगत सामग्रीहरू फेला पारेको थियो।
प्रहरीका अनुसार, घटनास्थलमा उनका स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबड बरामद भएकाे छ ।
यी सामग्रीहरू भेटिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। लगत्तै, नजिकै रहेको दहियार टोलका ललन यादवको पोखरीमा उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले घटना शंकास्पद देखिएकाले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।



