जनकपुर,१२ कातिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी तीव्र बनाएका छन्। लोसपाका नेता सोनल असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए, र पदभार ग्रहण गरेको दुई साता नबित्दै उनले प्रदेशसभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।
आज जनकपुरमा सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बस्दैछ। बैठकको मुख्य एजेन्डा विश्वासको मत लिने मिति तय गर्नु र त्यसलगत्तै मन्त्रिपरिषद् विस्तारको खाका तयार पार्नु रहेको छ।
मुख्यमन्त्री सोनलले भनेका छन्, “विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिइनेछ। प्रदेशसभामा रहेका सबै दलसँग सहकार्य र समन्वय गर्दै प्रदेशको विकासका एजेन्डामा अघि बढ्ने हाम्रो उद्देश्य हो।”

सोनलले असोज ३० गते शपथ लिएकै दिन दुईजना मन्त्री नियुक्त गरेका थिए, तर तिहार र छठ पर्वका कारण बाँकी मन्त्रालय बाँडफाँट ढिलाइमा परेको छ। गठबन्धनभित्रको प्रारम्भिक सहमतिअनुसार जसपाले चार, जनमतले तीन (चार मन्त्रालयमा दाबी भए पनि), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले दुई–दुई मन्त्रालय पाउने बुझिएको छ। मुख्यमन्त्री लोसपाबाट भएकाले पार्टीलाई अन्य मन्त्रालय नदिने तयारी गरिएको छ।
हाल जनमतका महेश यादव र एकीकृत समाजवादीका कनिस पटेल मन्त्री छन्, तर उनीहरूको मन्त्रालय तोकिएको छैन।
तर, सरकार गठनमा निर्णायक भूमिका खेलेको जनमत पार्टीभित्र देखिएको आन्तरिक मतभेदका कारण सोनलको विश्वासको मतमा केही आशंका देखिएको छ। जनमतका दुई सांसदले फरक दल रोजेपछि गठबन्धनमा हल्का असहजता देखिएको हो। यद्यपि मुख्यमन्त्री सोनलले जनमतभित्रको विवाद विधिसम्मत रूपमा समाधान हुने विश्वास व्यक्त गर्दै उक्त विवादले सरकारलाई असर नपर्ने दाबी गरेका छन्।
आज बस्ने गठबन्धनको निर्णायक बैठकबाट विश्वासको मत लिने मिति र मन्त्रालय बाँडफाँटको अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ। त्यसपछि मधेस सरकारलाई पूर्णता दिने तयारी तीव्र हुने बताइएकाे छ।




