काठमाडौं,१२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम मिर्गौला समस्याका कारण काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसीयूमा भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार तिहारअघि नै उनलाई आइसीयूमा राखी उपचार सुरु गरिएको हो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिकित्सकको निगरानीमा निरन्तर उपचार भइरहेको जनाइएको छ।
रौतहटका नेता आलम पछिल्ला वर्षहरूमा स्वास्थ्य समस्याबाट पीडित हुँदै आएका छन्। दसैंअघि पनि उनलाई मिर्गौला सम्बन्धी समस्या बल्झिएपछि केएमसीमा भर्ना गरिएको थियो। यसअघि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा करिब एक हप्ता उपचारपछि डिस्चार्ज भएका उनी फेरि समस्या बढेपछि पुनः अस्पताल पुगेका हुन्।
आलमलाई २०६४ चैत २७ गते रौतहटको राजापुरमा भएको बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो। तर, उनले उच्च अदालत वीरगंजमा पुनरावेदन गरेपछि गत १४ जेठमा न्यायाधीश खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियो।
सोही दिन उनी नख्खु कारागारबाट रिहा भएका थिए। रिहाइपछिका केही महिनादेखि स्वास्थ्य समस्या दोहोरिँदै आएकाले अहिले उनको अवस्था विशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ।



