काठमाडौँ,१२ कातिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले यो आन्दोलन “व्यवस्था परिवर्तन” को मागसहित शान्तिपूर्ण रूपमा अघि बढाइने बताए।
मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार, “यो बन्दुक, बारुद वा हिंसात्मक आन्दोलन होइन। कुनै घर जलाउने, तोडफोड गर्ने वा व्यापार ध्वस्त पार्ने उद्देश्य हाम्रो छैन।”
मंसिर ७ गतेलाई प्रतीकात्मक रूपमा रोजिएको कारण स्पष्ट गर्दै प्रसाईंले भने, “त्यो दिन नै दिल्लीमा दलहरू र माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो, जसले देशमा राजसंस्था र हिन्दू अधिराज्यको अन्त्य गरायो।” उनले अहिले देश विदेशी शक्तिको प्रभावमा चलेको दाबी गर्दै त्यसको अन्त्यका लागि ‘नयाँ राष्ट्रिय पुनर्जागरण’ आवश्यक भएको बताए।

प्रसाईंले आन्दोलनका क्रममा शान्ति र अनुशासन कायम रहने बताउँदै तोडफोड वा हिंसामा संलग्न हुने कुनै पनि गतिविधिको जिम्मेवारी अभियानले नलिने स्पष्ट पारे। साथै, उनले आन्दोलन सुरु हुनुअघि नागरिकलाई आवश्यक इन्धन, ग्यास र दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न सुझाव दिए।
उनका अनुसार, आन्दोलनको उद्देश्य “पशुपति र माता दुर्गाको संरक्षण” तथा “विदेशमा रहेका नेपाली युवालाई मातृभूमिमा फर्काउने” हो। सरकारले आफूलाई वार्ताका लागि बोलाएको र पक्राउ गर्न सक्ने सम्भावनाबारे प्रश्न सोधिँदा प्रसाईंले भने, “अब म भाग्दिन। यो देश र धर्म रक्षाका लागि मसँग अडान छ।”
प्रसाईंले आगामी दिनमा पत्रकार सम्मेलन गरी आन्दोलनका थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।




