बीरगन्ज,१२ कातिक । बीरगन्ज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा भाद्र २४ गते भएको आगजनीमा नष्ट भएका महत्त्वपूर्ण शैक्षिक फाइलहरू पुनः बुझाउन सम्बन्धित शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ।
महानगरपालिकाले जारी सूचनामा आर्थिक वर्ष २०८१/०८२ का कक्षा अपग्रेडिङ्ग, नयाँ अनुमति, नामसारी तथा ठाउँसारीका लागि दर्ता भएका सम्पूर्ण निवेदन (फाइल) आगलागीमा नष्ट भएको जनाएको छ। यस कारणले प्रशासनिक कार्यमा कठिनाइ उत्पन्न भएको छ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, सामुदायिक तथा संस्थागत विद्यालय, कोचिङ्ग/ट्युसन सेन्टर र मन्टेश्वरीहरूलाई कार्तिक १६ गते आइतबार कार्यालय समयभित्र आगलागीमा नष्ट भएका फाइलको प्रतिलिपि अनिवार्य रूपमा पुनः पेश गर्न अनुरोध गरिएको छ।

महानगरपालिकाले यस सूचनाबारे प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराइसकेको जनाएको छ।
यस कदमले शैक्षिक प्रशासनका कार्यहरू सामान्य अवस्थामा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।




