काठमाडौँ, १२ कात्तिक ।नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले पार्टीको हालको राजनीतिक स्थिति, भावी दिशा र वाम एकताको आवश्यकता विषयक प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा उनले नेपालको समाजवादी आन्दोलनलाई सुदृढ पार्नका लागि कम्युनिस्ट एकता अपरिहार्य रहेको बताएका छन्।
उनका अनुसार, “समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो र क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ, र त्यो शक्ति यहाँका क्रान्तिकारी कम्युनिस्ट दलहरूको एकताबाट मात्रै निर्माण हुन सक्छ।”
तर उनले स्पष्ट आधार र साझा नीति नबनाई पार्टी एकता सम्भव नहुने उल्लेख गर्दै वाम दलबीच वैचारिक स्पष्टता र संगठनात्मक तयारी अपरिहार्य रहेको बताए।
बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्ने कार्यसूची तय गरिएको छ।




