बीरगन्ज,१२ कातिक । गत भाद्र २४ गते जेनजी आन्दोलनको अवसरमा नख्खु कारागार, ललितपुरबाट फरार भएका लागुऔषध कसूरमा सजाय पाएका ३९ वर्षीय लालबाबु साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बीरगन्ज महानगरपालिका–१० रानीघाट बस्ने साहलाई उनीकै घरबाट नियन्त्रणमा लिइएको हो। ललितपुर जिल्ला अदालतले उनलाई लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, साह फरार भएपछि आफ्नो गाउँघरमा लुकीछिपी बस्दै आएका थिए। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले हिजो साँझ ५ः३० बजे उनलाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरी नख्खु कारागार पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
यस पक्राउपश्चात फरार कैदी नियन्त्रणमा ल्याउने प्रहरी प्रयास सफल भएको जनाएको छ।




