बीरगन्ज,१२ कातिक । आगामी दिनहरूमा मधेस प्रदेशमा भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश सरकार उच्च सतर्कतामा जुटेको छ। भारतको उडिसा तटबाट सुरु भएको ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबारदेखि प्रदेशमा पर्ने पूर्वानुमानका आधारमा बुधबार गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो।
मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए। बैठकमा सम्भावित जोखिमका क्षेत्र, उद्धार तथा राहत तयारी, र जनसाधारणलाई सचेत गराउने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसै सन्दर्भमा मुख्यमन्त्री सोनलले प्रदेश सरकार विपद् जोखिम न्यूनीकरणका लागि पूर्ण तयारीमा रहेको बताउँदै भने, “आगामी तीन दिन उच्च सतर्कता आवश्यक छ, सरकारले सबै संयन्त्र परिचालनमा ल्याइसकेको छ।”
सोनलका अनुसार सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीलगायतका नदीहरूमा जलस्तर बढ्ने सम्भावना भएकाले तटीय बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। उनले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी अधिकतम तयारी गर्ने प्रतिबद्धता जनाए।
प्रदेश सरकारले स्थानीय तह, प्रहरी, सेना र रेडक्रससँग समन्वय गर्दै सम्भावित जोखिम क्षेत्रहरूमा राहत तथा उद्धार टोली पनि तयारी अवस्थामा राखेको जनाएको छ।




