spot_img

तलब र सेवा–सुविधा नपाएपछि नगरपालिकामा सबै वडा कार्यालयमा तालाबन्दी

spot_img
spot_img

रौतहट,१३ कात्तिक ।  रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि तलब र सेवा–सुविधा नपाएको विरोधमा उनीहरूले बुधबारदेखि नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

यसअघि पनि दीपावली र छठ पर्वअघि कर्मचारीहरूले यही मागसहित आन्दोलन गरेका थिए। तर नगरप्रमुख अजय प्रकाश जयसवालले छठअघि नै तलब भुक्तानी गरिने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो। तर दुई साता नबित्दै वाचा पूरा नभएपछि पुनः आन्दोलन सुरु गरिएको करार कर्मचारीहरूले बताएका छन्।

कर्मचारीहरूले नगरप्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले पटक–पटक लिखित तथा मौखिक आश्वासन दिए पनि कार्यान्वयन नगरेको आरोप लगाएका छन्। वडा नं. ८ का कर्मचारी मुकुन्द यादवका अनुसार सबै वडाका कर्मचारीहरूले कार्यालयका चाबी आफैंले नियन्त्रणमा लिएर तालाबन्दी गरेका छन्।

वडा नं. १ का करार कर्मचारी मुकेश कुशवाहाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

नगरप्रमुख जयसवालले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै करार कर्मचारीहरूको समस्या चाँडै समाधान गरिने बताएका थिए। योजना शाखा प्रमुख रामनरेश यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलपछि तीन दिनभित्र तलब वितरण प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ।

तर कर्मचारीहरू भने पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नहुँदा अब विश्वास गर्न गाह्रो भएको बताउँदै आन्दोलन जारी राख्ने अडानमा छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय