वीरगन्ज,१३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार, वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने २२ वर्षीय भुट्टा भन्ने राज कुमार महतोलाई पक्राउ गरिएको हो।
उक्त घटना २०८२ साल वैशाख १५ गते राति करिब ९ बजे वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुरमा घटेको थियो। सो समयमा बिहेको जन्ती जान ढिलो भएको र नाँचगान बन्द गर्ने विषयलाई लिएर भएको विवादमा मनराज ठाकुर समेतका व्यक्तिहरूले ३६ वर्षीय जंग बहादुर महतो भन्ने धर्मबीर महतोलाई कुटपिट तथा कर्तव्य गरी हत्या गरेका थिए।
वारदातपछि फरार रहेका प्रतिवादी राज कुमार महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा हिजो साँझ करिब ६ : ४० बजे वीरगन्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भुट्टा भन्ने राज कुमार महतोलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई ‘ज्यान सम्बन्धि कसूर’ मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



