भैरहवा, १३ कात्तिक । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको बक्यौता महशुल नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति काटेपछि रुपन्देहीका उद्योगीहरूले बिहीबार झरीमै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा गरिएको प्रदर्शनमा तिलोत्तमा उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, विभिन्न श्रमिक संगठन र जिफन्ट नेपालले ऐक्यबद्धता जनाएका थिए। प्रदर्शनमा बन्द उद्योगका कर्मचारी र मजदुरहरूले समेत सहभागिता जनाएका थिए।
उनीहरूले माग नै नगरेको ट्रंकलाइनको महशुल तिर्न बाध्य बनाइएको भन्दै आक्रोश व्यक्त गरे। बिहान ११ बजेदेखि १२ बजेसम्म भैरहवास्थित विद्युत् कार्यालय अगाडि व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका उद्योगीहरूले सरकारसँग ट्रंकलाइन माग गरिएको प्रमाण देखाउन माग गरे।
प्रदर्शनका क्रममा मजदुरहरूले “प्रमाण देखाएपछि मात्रै महशुल बुझाउँछौं” भन्दै नाराबाजी गरेका थिए। उनीहरूले सरकारले उद्योगीहरूलाई ‘बदनाम गर्न खोजेको’ आरोपसमेत लगाए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, “नेपालका उद्योगी–व्यवसायीमाथि कुलमान घिसिङले ऊर्जा मन्त्री बन्नु अघिदेखि नै प्रतिशोधपूर्ण व्यवहार गर्दै आएका छन्। प्रयोग नै नगरेको लाइनको बिल तिर्न दबाब दिने कार्य अन्यायपूर्ण छ।”
उनका अनुसार रुपन्देहीका करिब डेढ दर्जन उद्योगमा पूर्वजानकारी बिना नै डेडिकेटेड फिडर र ट्रंकलाइन जडान गरी महशुल असुल्न खोजिएको छ। उनले आन्दोलनलाई शान्तिपूर्ण तर निरन्तर रूपमा अघि बढाइने चेतावनी पनि दिए।
संघ–संस्थाका प्रतिनिधिहरूले माग नगरेका उद्योगीमाथि महशुल असुल्ने निर्णय खारेज नगरेसम्म विरोधका कार्यक्रम चरणबद्ध रूपमा जारी राख्ने घोषणा गरेका छन्।




