काठमाडौँ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालमाथि पार्टीलाई माओवादी केन्द्रसँग विलय गरेर “विसर्जन गर्न खोजेको” आरोप लगाएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव टेबुल भएपछि खनालले खुला रूपमा असहमति जनाएका हुन्। बैठकमा अध्यक्ष नेपालले निर्वाचन आयोगले दिएको समयसीमा अनुसार कात्तिक मसान्तभित्र एकता टुंग्याउने प्रस्ताव अघि सारेका छन्। माओवादी र समाजवादीबीच सैद्धान्तिक र नीतिगत सहमति नजिक पुगेको भए पनि पार्टीको नाम र संरचना विषयमा विवाद बाँकी रहेको बताइन्छ।
तर खनालको भनाइमा, “माओवादीसँग अहिले एकता गर्नु भनेको पार्टीको अस्तित्व नै मेटाउने हो। यो नेताको व्यक्तिगत सुरक्षासँग जोडिएको निर्णय हो, राजनीतिक वा वैचारिक होइन।”

खनालले पार्टी नेतृत्वमाथि विगत चार वर्षमा कुनै पनि लक्ष्य पूरा गर्न नसकेको आरोप समेत लगाए। उनले भने, “एमालेबाट विद्रोह गर्दा जे उद्देश्य राखिएको थियो, त्यो मध्ये एक पनि पूरा हुन सकेन। अहिले पार्टीले आत्मसमिक्षा गरेर पुनर्गठन गर्नुपर्ने बेला हो, तर नेतृत्वले आफ्नो असफलता लुकाउन हतारमा माओवादीसँग मिल्न खोजिरहेको छ।”
उनका अनुसार अहिलेको एकता प्रक्रिया “वामपन्थी एकता होइन, व्यक्तिगत सौदा र अस्तित्व जोगाउने प्रयास मात्र हो।”
खनालले वामपन्थी दलबीच कार्यगत एकता र साझा राजनीतिक मोर्चाको आवश्यकता रहेको बताए। “पहिले साझा मुद्दामा सहकार्य गरौं, विचार र नीति मिलाउँदै लैजाऔं, त्यसपछि मात्रै एकता सम्भव हुन्छ,” उनले भने।
उनले थपे, “अहिले माओवादीसँग एकता गर्नु कुनै आवश्यकता होइन। हतारमा गरिएको विलयले पार्टी टुक्रिने र अस्तित्व गुम्ने खतरा छ।”
खनालले हालैको पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुछिएका माधव नेपाल माओवादीसँग एकता गर्न राजनीतिक दबाब र मुद्दाबाट जोगिन खोजिरहेको दाबी गरे। “उहाँले पार्टी सञ्चालन गर्न सकेनन्, विस्तार गर्न सकेनन्, अब मुद्दा परेपछि माओवादीमा गाभिएर सुरक्षित हुन खोज्दै हुनुहुन्छ,” खनालको भनाइ छ।
खनालले भने, “हामी एमालेमा फर्किने होइनौं। तर माधव नेपालले जुन बाटो लिन खोज्दैछन्, त्यो पनि हाम्रो बाटो होइन। हामी पार्टीलाई बलियो, क्रान्तिकारी र विचारधारामा अडिएको बनाउने पक्षमा छौं।”
उनका अनुसार पार्टीभित्र घनश्याम भुसाललगायतका नेताहरू पनि तत्काल माओवादीसँग एकता नगर्ने पक्षमा उभिएका छन्।
यसबीच, माधव नेपाल पक्ष भने एकता टुंग्याउने अन्तिम चरणमा पुगेको दाबी गर्दैछ। पार्टी एकीकरणका विषयमा निर्णय हुने अन्तिम छलफल केन्द्रीय कमिटी बैठकले नै गर्नेछ।




