जनकपुर,१३ कातिक । मधेस प्रदेशकी प्रदेशसभा सदस्य किरण कुमारी साह पारिवारिक विवादको केन्द्रमा परेकी छन्। उनीमाथि आफ्ना ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीलाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ।
सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्दै आएका देवनारायण दम्पतीले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सांसद किरण साह र उनका श्रीमान् इन्जिनियर विनोद साहमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।
भिडियो सन्देशमा देवनारायण साहले भनेका छन्, “मैले आफ्नो सम्पूर्ण जीवनको मेहनत लगानी गरेर यो घर बनाएको हुँ, तर अहिले छोरा र बुहारीले मलाई र श्रीमतीलाई घरबाट निकालिदिए।” उनका अनुसार असोज २० गते मन्दिर गएको बेला घरको दराज फोडी नागरिकता र जग्गा–घरसम्बन्धी कागजात चोरी गरियो, र सोधपुछ गर्दा उल्टै कुटपिट गरी घरबाट निकालिएको दाबी छ।
देवनारायणले असोज २२ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दर्ता गराएको बताएका छन्। कात्तिक २ गते पनि आफूमाथि कुटपिट भएको भन्दै उनले छोरा–बुहारीमाथि दोहोर्याएर आरोप लगाएका छन्। साथै, किरण साहले आफ्नो जनप्रतिनिधिको पदको दुरुपयोग गरेर प्रहरी र प्रशासनमा प्रभाव पार्ने प्रयास गरेको आरोप पनि उनले लगाएका छन्।
तर सांसद किरण कुमारी साहले यी सबै आरोप असत्य र नियोजित भएको दाबी गरेकी छन्। उनका अनुसार यो सामान्य पारिवारिक विवादलाई राजनीतिक रूपमा दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको हो।
“यो मेरो राजनीतिक छवि बिगार्ने षड्यन्त्र हो,” उनले भनिन्, “चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबिच सानो विवाद भएको मात्र हो, तर त्यसलाई अनावश्यक रूपमा ठूलो बनाइएको छ।”
किरणले आफ्नी नन्द माधुरी साह जनमत पार्टीसँग आबद्ध नेतृ भएको र त्यही राजनीतिक प्रतिस्पर्धाका कारण विवाद सार्वजनिक बनाइएको आरोप लगाइन्। उनका अनुसार सासू–ससुरा आफैं नन्दको घरमा बसेका हुन्, “हामीले बारम्बार फर्किन आग्रह गरेका छौं, तर उहाँहरू आउनुभएको छैन,” उनले भनिन्।
कुटपिटसम्बन्धी आरोप अस्वीकार गर्दै उनले भनिन्, “मेरो श्रीमानले हातपात गरेको होइन, बरु ससुराले उहाँमाथि हातपात गर्न खोज्दा मैले बीचबचाउ गरेकी हुँ।”
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार देवनारायण साहको उजुरी दर्ता भइसकेको छ र प्रहरी प्रशासनले दुवै पक्षलाई छलफलका लागि बोलाउने तयारी गरिरहेको छ। प्रहरी स्रोतका अनुसार, “विषय पारिवारिक विवादसँग सम्बन्धित देखिन्छ, तर एक पक्ष जनप्रतिनिधि भएकाले निष्पक्ष अनुसन्धान हुनेछ।”
राजनीतिक विश्लेषकहरूका अनुसार जसपा र जनमत पार्टीबीचको पुरानो प्रतिस्पर्धा यस घटनामा पनि परिलक्षित भएको छ। विवाद पारिवारिक मात्र नभई राजनीतिक रंग चढाइएको तर्क गरिएको छ।
प्रदेशसभा सदस्य किरण कुमारी साह मधेस राजनीतिमा सक्रिय महिला नेतृ हुन्। यो विवादले उनको राजनीतिक छविमा असर पार्ने देखिएको छ, यद्यपि जसपाका नेताहरूले यो मुद्दा व्यक्तिगत जीवनसँग सम्बन्धित भएकाले पार्टीले आधिकारिक टिप्पणी नगर्ने जनाएका छन्।
यसैबीच, स्थानीय प्रशासनले दुबै पक्षलाई वार्तामार्फत समाधान खोज्ने प्रयास गरिरहेको छ, तर सार्वजनिक आरोप–प्रत्यारोपका कारण विवाद तत्काल शान्त हुने संकेत भने देखिएको छैन।




