काठमाडौँ,१३ कातिक । नेपालमा अहिले एकैसाथ तीन मौसम प्रणाली सक्रिय रहेकाले देशभर वर्षा र हिमपातको प्रभाव देखिएको छ। अरब सागर आसपास विकसित न्यून चापीय प्रणाली, बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवात, र आन्तरिक स्थानीय प्रणालीको संयुक्त असरले देशभर मौसम अस्थिर बनेको हो।
बुधबार रातिदेखि नै देशका धेरै भागमा पानी परिरहेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान हल्का वर्षा सुरु भए पनि दिउँसोपछि मध्यम वर्षा भइरहेको छ। गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा लगातार वर्षा जारी छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा उदयपुरगढीमा ४५.२ मिलिमिटर, मुर्कुची बजारमा ४३.८, कमला नदी केन्द्रमा ३९, गोलबजारमा ३७.४, धनकुटाको त्रिवेणीमा ३६.४ र तुम्लिङटारमा ३२.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
मौसम विज्ञ उज्ज्वल उपाध्यायका अनुसार अहिले भइरहेको वर्षा केवल बंगालको खाडीको चक्रवातको कारण मात्र नभई पश्चिमी वायुको सक्रियताले पनि प्रभाव पारेको हो।
‘मोन्था आँधीको आंशिक प्रभाव र पश्चिमी वायुको संयुक्त असरले देशभर पानीको मात्रा बढेको हो,’ उनले भने।
उनीका अनुसार आज अपराह्नदेखि चक्रवात ‘मोन्था’ पूर्ण रूपमा सक्रिय हुँदैछ, जसका कारण मेचीदेखि गण्डकीसम्म ठूलो मात्रामा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।
‘आज र भोलि लामो यात्रा नगर्न सल्लाह दिन्छौं। हवाई सेवा पनि प्रभावित हुन सक्छ,’ उनले चेतावनी दिए।
मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार बिहानदेखि गण्डकीदेखि पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।‘यो त सुरुवात मात्र हो, प्रणाली अझै नजिकिँदैछ। आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा ठूलो वर्षा हुन सक्छ,’ उनले भने।
उनका अनुसार काठमाडौं उपत्यकामा करिब २४ घण्टासम्म निरन्तर वर्षा रहने र मधेस तथा कोशी प्रदेशमा ३६ घण्टासम्म पानी पर्ने सम्भावना छ।विपद् विशेषज्ञ धर्म उप्रेतीले पनि अहिलेको वर्षा प्रणालीले मनसुनकै झल्को दिने बताएका छन्।
‘अब निरन्तर वर्षा हुनेछ, शुक्रबार बिहानैदेखि अझ सक्रिय हुने सम्भावना छ,’ उनले भने।
विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही ठाउँमा भारी वर्षाको चेतावनी दिएको छ। साथै, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना पनि उच्च रहेको विभागले जनाएको छ।
त्यस्तै, कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, बागलुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला जिल्लाका बासिन्दालाई मौसम सूचना अद्यावधिक गर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार आज राति पनि देशका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, र हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहनेछ।





