spot_img

रवि लामिछाने र छविलाल जोशीको मुद्दा अर्को हप्तासम्म स्थगित

spot_img
spot_img

बुटवल,१३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ।

तुलसीपुर उच्च अदालत बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा चौथो नम्बरमा परेको यो मुद्दा जोशीका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि दुवैको सुनुवाइ स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार अब अर्को हप्ताका लागि नयाँ पेशी तोकिनेछ।

यसअघि उच्च अदालतले रवि र जोशीको मुद्दा एउटै प्रकृतिको भएको भन्दै संयुक्त रूपमा सुनुवाइ गर्ने आदेश दिएको थियो। बुटवलको सुप्रिम सहकारी संस्थाबाट ठगी र संगठित अपराधको आरोपमा दुवै जना थुनामा रहेका छन्। जोशी भैरहवा कारागारमा छन् भने लामिछाने नख्खु कारागारमा छन्।

लामिछानेले भदौ ९ गते उच्च अदालतमा आफ्नो भागको बिगो रकम दाखिला गरी रिहा हुन माग गर्दै निवेदन दर्ता गरेका थिए। यसअघि जिल्ला अदालत रूपन्देहीले साउन २६ गते उनको रिहा माग अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि सहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले त्यसमध्ये २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका छन्।

सरकारी वकिल र प्रतिवादी पक्षबीच आज बहस हुने तयारी भए पनि स्थगित भएपछि अब अर्को पेशीमा मात्र बहस अघि बढ्ने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय