काठमाडौं, १३ कात्तिक । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दलको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राखिएको छ भने पार्टीको चुनाव चिह्नका लागि ‘जाँतो’ प्रस्ताव गरिएको छ।
यसअघि चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को चुनाव चिह्न ढकिया थियो।
पार्टी विभाजनको पृष्ठभूमिमा, गत भदौ २९ गते रेशम चौधरीले नयाँ पार्टी गठनको घोषणा गरेका थिए। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई कुनै जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेपछि चौधरी रुष्ट बनेका थिए। यस कदमले नाउपा औपचारिक रूपमा दुई भागमा विभाजित हुने बाटो खुलेको छ।




