spot_img

नेपाली कांग्रेस नेता अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

spot_img
spot_img

काठमाडौँ, १४ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको छ। हाल उनी काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा भेन्टिलेटरमा राखी उपचाररत छन्।

केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार आलमको स्वास्थ्य विगत केही दिनदेखि गम्भीर बन्दै गएको हो। “उनी अहिले पनि भेन्टिलेटरमा नै छन्। चिकित्सकको टोलीले निरन्तर निगरानीमा राखेको छ,” दाहालले रातोपाटीसँग भने, “अवस्था अत्यन्तै नाजुक छ।”

कारागारबाट छुटेको केही दिनमै आलमको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। करिब एक सातासम्म उपचारपछि उनी डिस्चार्ज भएका थिए। तर, केही समयपछि पुनः स्वास्थ्य जटिलता बढेपछि दसैँअघि काठमाडौँ मेडिकल कलेजमा भर्ना गरियो।केही सुधार देखिएपछि घर फर्काइए पनि तिहारअघि पुनः स्वास्थ्य बिग्रिएपछि तेस्रो पटक सोही अस्पतालमा भर्ना गरिएको हो। हाल उनी आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोट प्रकरणमा संलग्न रहेको आरोपमा आलमविरुद्ध २०७६ असोजमा पक्राउ आदेश जारी भएको थियो।उक्त घटनामा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा उनलाई अन्य तीन जनासहित जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो।

तर, आलमले उक्त फैसलाविरुद्ध वीरगञ्ज उच्च अदालतमा पुनरावेदन दायर गरेका थिए। उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गत १४ जेठमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषमुक्त ठहर गरेपछि उनी त्यही दिन नख्खु कारागारबाट रिहा भएका थिए।

अफताव आलम नेपाली कांग्रेसका प्रभावशाली मुस्लिम नेता हुन्। उनले विगतमा उद्योगमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। रौतहट–२ बाट २०६४ र २०७० सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी कांग्रेसभित्र मधेस क्षेत्रका सशक्त नेताका रूपमा परिचित छन्।

अस्पताल स्रोतका अनुसार अहिले आलमको मुटु, सासप्रश्वास र मृगौलासम्बन्धी समस्या गम्भीर बनेको छ। चिकित्सकहरूको टोलीले निरन्तर उपचारमा खटिए पनि सुधारका संकेत नदेखिएको बताइएको छ। कांग्रेसका नेता–कार्यकर्ताहरूले उनको स्वास्थ्य सुधारको कामनासहित निरन्तर सम्पर्कमा रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय