spot_img

शनिबारसम्म तीन प्रदेशमा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले नेपालका तीन प्रदेश—कोशी, मधेश र बागमती—मा शुक्रबार र शनिबारसम्म भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ। सरकारले जनतालाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबारदेखि मनसुन पुनः सक्रिय बनेको छ र शनिबारसम्म देशका पूर्वी र मध्य भागमा वर्षाको प्रभाव रहनेछ। “पछिल्ला घण्टामा केही स्थानमा मध्यम वर्षा भएको छ। आजदेखि धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ,” उनले बताए।

विभागले १३ देखि १५ कात्तिकसम्म कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ। लुम्बिनी प्रदेशका नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तुका साना नदीमा समेत पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गको खुर्कोट–धुलिखेल खण्डमा दुई रात सवारी सञ्चालनमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार सिन्धुली बाढी र पहिरोको उच्च जोखिम क्षेत्रमा पर्छ, त्यसैले दुर्घटना रोक्न यो कदम चालिएको हो।

चक्रवातसँगै आएको वर्षा र हिमपातले हिमाली पर्यटक मार्गहरू प्रभावित भएका छन्। म्याग्दीको अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रमा हिमपातका कारण फसेका १७ जना विदेशीसहित ७२ जना पर्यटकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्।
प्रहरी नायब उपरीक्षक लिलाबहादुर भुजेलका अनुसार ती पर्यटक वर्षा र हिउँका कारण पैदलमार्ग अवरुद्ध भएपछि हुमखोला क्षेत्रमा फसेका थिए। सबैलाई सकुशल उद्धार गरी तल झारिएको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाको जोखिमका कारण सोमबारदेखि शुक्रबारसम्म अन्नपूर्ण आधार शिविर भ्रमणमा अस्थायी रोक लगाइएको जानकारी दिए। प्रशासनले घोडेपानी, पुनहिल, खोप्रालेक, मोहरेडाँडालगायत क्षेत्रमा पनि यात्रा नगर्न आग्रह गरेको छ।

म्याग्दीको मुदी क्षेत्र हुँदै मुस्ताङको मार्फा जाँदै गरेका तीन जना बेलायती महिला र १२ जना नेपाली गाइड तथा मजदुर हिमाली क्षेत्रमा फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।उता मनाङमा लगातार हिमपातपछि जनजीवन प्रभावित भएको छ। विद्युत् र सञ्चार सेवा अवरुद्ध छन्। स्थानीय पत्रकार नवराज पहाडीका अनुसार मनाङमा तीन सयभन्दा बढी विदेशीसहित करिब पाँच सयभन्दा बढी पर्यटक अड्किएका छन्।

अस्थायी प्रहरी चौकीका प्रमुख अशोक सापकोटाले स्थानीय र पर्यटकको अवस्था निरन्तर अनुगमन भइरहेको बताए।
तिलिचो बेसक्याम्पमा फसेका २५ जना पर्यटकलाई निसाङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले घोडा पठाएर सकुशल उद्धार गरेका छन्।संखुवासभामा निरन्तर वर्षा र हिमपात जारी रहेकाले मकालु आधार शिविर क्षेत्रमा पदयात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले भनिन्, “४ हजार मिटरभन्दा माथि हिमपात भइरहेको छ। चिसो र खाद्यान्य अभाव हुनसक्ने भएकाले पर्यटकले उच्च सतर्कता अपनाउनुपर्छ।”त्यहाँ हाल करिब २ सयभन्दा बढी पर्वतारोही रहेका छन्, जसमा करिब ७० जना विदेशी छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
सरकार र स्थानीय निकायहरूले जनतालाई जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन, आवश्यक तयारी गर्न, र सूचना प्रसारणमा सहयोग गर्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय