काठमाडौं,१४ कात्तिक । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता देखिएको छ। आयोगले ३६ दिनको अवधिमा देशभर ८५ हजार १०७ नयाँ मतदाता थपिएको जानकारी दिएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौंले सबैभन्दा धेरै ११ हजार २३० नयाँ मतदाता थपेर अग्रस्थानमा रहेको छ। त्यसपछि ललितपुरमा ४ हजार ९९३, भक्तपुरमा ३ हजार ४३७, मोरङमा ३ हजार २८४, चितवनमा ३ हजार ६३, रुपन्देहीमा ३ हजार ३२, झापामा २ हजार ९७८, सुनसरीमा २ हजार ६२३, सप्तरीमा २ हजार ३५५ र बारामा २ हजार ३३१ जना नयाँ मतदाता दर्ता भएका छन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले असोज ९ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सुरु गरेको हो। आयोगले १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त नागरिकहरूलाई प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न आह्वान गरेको छ।

मतदाता नामावली दर्ता कार्य हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म (सार्वजनिक बिदा बाहेक) सञ्चालनमा छ। आयोगले जारी गरेको कार्यक्रम कात्तिक ३० गतेसम्म निरन्तर रहनेछ।
अध्यादेशमार्फत जारी गरिएको यस अभियानले विशेष गरी युवालाई लक्षित गरेको छ। जेनजी आन्दोलनका क्रममा सक्रिय रहेर राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका धेरै युवाको नाम मतदाता नामावलीमा नपरेको भन्दै सरकारले कानुनी अवरोध हटाउन विशेष प्रावधानसहित अध्यादेश ल्याएको हो।
आयोगका अनुसार मतदाता नामावली संकलन अन्तर्गत नयाँ दर्तासँगै स्थानान्तरण, विवाह वा बसाइँ सराइका कारण क्षेत्र परिवर्तन गर्नुपर्ने मतदाताले आफ्नो नामसहित विवरण अद्यावधिक गर्न सक्नेछन्। त्यस्तै, नाम वा अन्य विवरणमा त्रुटि भएको खण्डमा त्यसको संशोधनसमेत गर्न सकिने व्यवस्था छ।
निर्वाचन आयोगले सबै योग्य नागरिकलाई आगामी निर्वाचनमा आफ्नो मताधिकार सुनिश्चित गर्न समयमै नाम दर्ता गराउन आग्रह गरेको छ।




