बीरगन्ज,१४ कात्तिक । बीरगन्जमा शुक्रबार बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बीरगन्ज महानगरपालिकाको अगुवाइमा भारतीय महावाणिज्य दूतावास र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा महानगरको वडा नम्बर २४ मा विभिन्न प्रजातिका १०० वटा विरुवा रोपिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउने लक्ष्यसहित यस्तो अभियान अघि बढाइएको बताए। उनले भने, “विरुवा रोप्नु मात्रै पर्याप्त छैन, तिनको संरक्षणमा पनि सबैको साझा जिम्मेवारी हुनुपर्छ।”
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणका लागि यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने योजना रहेको छ।
वृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावास बीरगन्जका महावाणिज्यदूत डि.एस. मिना, प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, प्रहरी उपरीक्षक सुदीपराज पाठक, प्रहरी निरीक्षक विक्रम सुबेदी, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल लगायत स्थानीय सरोकारवालाको उपस्थिति थियो।
मेयर सिंहले अन्त्यमा सबैलाई बीरगन्जलाई “हरियो शहर” बनाउने अभियानमा हातेमालो गर्न आह्वान गरे।



