काठमाडौं,१४ कात्तिक । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनको मिति र तयारीलाई लिएर संस्थापन (सभापति शेरबहादुर देउवा नेतृत्व) र संस्थापन इतर समूहबीचको मतभेद खुलेर सतहमा आएको छ। संस्थापन इतर समूहले पार्टीको नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनालाई प्राथमिकता दिँदै आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने ठोस अडान लिएको छ।
शुक्रबार बिहान डा। शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको विस्तारित बैठकले आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचनभन्दा अगाडि नै पार्टीले नयाँ नेतृत्व चयन गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार, “संविधान र विधान अनुसार नियमित महाधिवेशन ढिलोमा पुस मसान्तभित्र सम्पन्न हुनुपर्छ, ताकि पार्टी नयाँ ऊर्जासहित निर्वाचनमा जान सकोस्,” भन्ने साझा धारणा बनाइएको छ।

बैठकले पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तयार गर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिएको छ। दुवै महामन्त्रीले कार्यवाहक सभापतिसँग छलफल गरी आजकै (शुक्रबार) बैठकमा प्रारम्भिक कार्यतालिका पेस गर्ने निर्देशन पाएका छन्।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू रमेश कोइराला, गुरूराज घिमिरे, भीम पराजुली, महालक्ष्मी उपाध्याय लगायतका नेता सहभागी थिए।बैठकमा सहभागीहरूले देउवा नेतृत्वको संस्थापन पक्षले महाधिवेशनलाई फागुनपछिसम्म सार्ने प्रयासलाई “पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने रणनीति” भन्दै आलोचना गरेका छन्।
संस्थापन पक्षले यसअघि फागुन २१ गते हुने आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। उनीहरूका अनुसार, हालको राजनीतिक परिस्थिति र निर्वाचन तयारीका कारण तत्काल महाधिवेशन सम्भव छैन। तर इतर समूहले यो निर्णयलाई नियमविपरीत र नेतृत्व स्थायित्वका लागि गरिएको रणनीतिका रूपमा व्याख्या गरेको छ।




