जनकपुर ,१४ कात्तिक । भारतका विभिन्न राज्यहरूमा जोखिमपूर्ण र अमानवीय श्रममा लगाइएका मधेस प्रदेशका १६ जना बालबालिकालाई उद्धार गरी शुक्रबार उनीहरूको परिवारको जिम्मा लगाइएको छ।
मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आयोजित कार्यक्रममा उद्धार गरिएका ती बालबालिकाहरूलाई औपचारिक रूपमा उनी–उनैका अभिभावकका जिम्मा लगाइएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको उपस्थितिमा परिवारलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
यी बालबालिकाहरू भारतको मुम्बई, दिल्ली र विहारमा जोखिमपूर्ण काममा संलग्न अवस्थामा भेटिएका थिए। उनीहरूलाई भारतीय प्रहरी र स्थानीय गैरसरकारी संस्था ‘काइन इंडिया (Kine India)’ को सहकार्यमा उद्धार गरिएको हो। उद्धारपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी नेपाल ल्याइएपछि मधेस प्रदेशका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र बाल अधिकार निकायको समन्वयमा उनीहरूलाई अभिभावकका जिम्मा लगाइएको हो।

उद्धार गरिएका बालबालिकाहरू महोत्तरी, धनुषा, सिराहा, रौतहट र सप्तरी जिल्लाका हुन्।राष्ट्रिय बालअधिकार परिषद् (National Child Rights Council) का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोका अनुसार, उद्धार गरिएका बालबालिकाहरूको उमेर ९ देखि १७ वर्ष सम्मका छन्।
महतोका भनाइमा, “यी बालबालिकामध्ये धेरैजसो सीमावर्ती क्षेत्रका हुन्, जसलाई भारतमा रोजगारीको प्रलोभन देखाएर लगिएको थियो। केहीजना बालबालिकाले होटल, कारखाना र घरेलु काममा मजदुरी गरेको जानकारी प्राप्त भएको छ।”
काइन इन्डियाले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेपछि नेपालस्थित राष्ट्रिय बालअधिकार परिषद्, गृह मन्त्रालय, तथा बालसुरक्षा संस्थाहरूको समन्वयमा पुनर्स्थापना प्रक्रिया अघि बढाइएको थियो।उद्धारपछि ती बालबालिकाहरूको स्वास्थ्य परीक्षण, मनोवैज्ञानिक परामर्श र अस्थायी पुनर्स्थापना गरिएको थियो।
राष्ट्रिय बालअधिकार परिषद्का तथ्याङ्कअनुसार, हरेक वर्ष करिब ५,००० नेपाली बालबालिका विभिन्न देशमा तस्करी वा श्रमशोषणमा पर्ने अनुमान छ।तीमध्ये ठूलो हिस्सा भारतका सहरहरू — विशेषगरी दिल्ली, मुम्बई र लखनउमा घरेलु काम, होटल व्यवसाय, तथा कारखानामा मजदुरीमा लगाइने गरिएको पाइएको छ।




