धुलिखेल,१४ कात्तिक । अविरल वर्षासँगै बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा पहिरो र लेदो बग्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विशेषगरी नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानहरूमा सडक माथिबाट लेदो, माटो र ढुङ्गा खसेपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी गाउँपालिका–७ स्थित चार सय बेँसी, वडा नं ९ को बिरुवा डाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसी क्षेत्रमा सडक माथिबाट ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सडक दुबै तर्फबाट बन्द भएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टले जनाएका छन्, “वर्षाका कारण थुप्रिएको लेदो र ढुङ्गा पन्छ्याउन डोजर पठाइएको छ। प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजनका कर्मचारी सडक खुलाउने कार्यमा जुटेका छन्, तर लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको छ।”

जोखिम न्यूनीकरणका लागि काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमनमा रोक लगाएको थियो।निर्देशनअनुसार एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालनमा अनुमति दिइएको थियो।तर वर्षा नरोकिएकाले आज बिहान पनि सडक सञ्चालनमा ल्याउन कठिन भएको जनाइएको छ।




