काठमाडौं,१४ कात्तिक । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आगामी निर्वाचनमा आफू, लक्ष्मण थारु र धनिराम चौधरीलाई चुनाव लड्न नदिए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गरे। उनले सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन आयोजना गर्न नहुने बताएका हुन्।
चौधरीले भने, “देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउन लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने। अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने?”

उनले थपे, “रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन। सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुँदैन। नेपाली कांग्रेस, एमाले र जेन–जीको इतिहासले पनि यही देखाउँछ।”
चौधरीले जेन–जी आन्दोलनका समर्थकहरूसँग नागरिकहरूको समर्थन रहेको भन्दै, समुदायलाई फसाउन सक्ने प्रयासहरूबाट सचेत रहन आग्रह गरेका छन्।




