काठमाडौँ,१४ कातिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा कात्तिक १८–२० गते आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन लागेका छन्। राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार प्रस्थान गर्नेछन्। सम्मेलनको मुख्य सत्रमा राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ।
यो सम्मेलन संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार आयोजना हुने भएकाले सदस्य राष्ट्रका लागि महत्वपूर्ण मानिन्छ। सचिव राईले सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक भएको र यसपटक कतारले आयोजना गरेको बताउँदै, नेपालका लागि ३० वर्षपछि दोस्रो संस्करणमा राष्ट्रपतिको सहभागिता विशेष महत्व राख्ने बताए।
सम्मेलनमा विश्वले सामना गरिरहेको विकास असमानता, जनसङ्ख्यामा असन्तुलन र प्रविधिको सामाजिक प्रभाव लगायतका विषयमा गहन छलफल हुने जनाइएको छ। साथै राष्ट्रपति पौडेलले सम्मेलनका अवसरमा कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नेछन्।
नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य १९५५ देखि सक्रिय रूपमा शान्ति र स्थायित्वमा योगदान गर्दै आएको छ। हाल नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि राष्ट्रपति पौडेलको सहभागिताले नेपालका लागि थप राजनीतिक र कूटनीतिक महत्व राख्ने विश्वास गरिएको छ।
राष्ट्रपति पौडेल कतार भ्रमण सकिएपछि कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम मन्त्रालयले जनाएको छ।



