spot_img

पहिरो र लेदोका कारण बीपी राजमार्ग अझै अवरुद्ध, यात्रु मर्कामा

spot_img
spot_img

काभ्रेपलाञ्चोक,१५ कात्तिक । लगातारको वर्षासँगै पहिरो र लेदोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पनि सञ्चालनमा आउन सकेको छैन । काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार शुक्रबार बिहानदेखि राजमार्गका धेरै ठाउँमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको हो ।

उनका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो, भने नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतका स्थानमा लेदो पसेर सडक पूर्णरूपमा बन्द भएको छ ।

विशेष गरी माम्तीको तल्लो भेगमा गत असोजमा बनेको डाइभर्सनमा लेदो र बाढी पसेपछि आवागमन असम्भव बनेको प्रहरीले जनाएको छ ।

अवरोध हटाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन कठिनाइ भइरहेको छ । प्रहरी निरीक्षक कार्कीले भने, “राजमार्ग सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले यात्रुहरूले अनिवार्य कारणबाहेक तत्काल यात्रा नगर्नु उपयुक्त हुन्छ ।”

हाल अवरोधका कारण पूर्वतर्फ जाने सवारीहरू काभ्रेको भकुन्डेमा रोकिएका छन् । त्यसैगरी, पूर्वबाट काठमाडौं फर्किने यात्रुहरू पनि बाटोमै अल्झिएका छन् ।

सडक सञ्चालनका लागि डोजर परिचालन गरिए पनि वर्षा रोकिएपछि मात्र ठूला पहिरो हटाउन सकिने बताइएको छ ।प्रहरीले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय