काठमाडौं,१५ कात्तिक । चार वर्षअघि नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) अन्ततः फुटेको छ । पार्टीभित्र माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने प्रस्तावलाई लिएर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको गहिरो मतभेद खुला विभाजनमा परिणत भएको हो ।
धुम्बाराहीमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव नेतृत्व), विप्लव समूहबाट फुटेको चरन पुन समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीसँग एकता गर्ने प्रस्ताव अघि सारेका थिए ।
तर उक्त प्रस्तावमा झलनाथ खनाल, घनश्याम भूसाल, घनेन्द्र बस्नेतलगायत नेताहरूले कडा आपत्ति जनाए । उनीहरूले ‘संख्याको आधारमा हतारमा एकता गर्नु सैद्धान्तिक रूपमा गलत’ भन्दै असहमति प्रकट गरे ।
खनालले बैठकमा स्पष्ट रूपमा भने, “हाहा-हुहु गरेर पार्टी एकता हुँदैन, मैले ३० बुँदाको दस्तावेज रोकेको छु।” तर उनको भनाइपछि बैठकमा माइक्रोफोन नै बन्द गरी बैठक टुंग्याइएको सहभागीहरूले बताए ।
खनाल पक्षले यो निर्णयलाई “पार्टी बिसर्जनको जबर्जस्ती कदम” भन्दै अस्वीकार गरेको छ । उनले भने, “एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने निर्णय भयो, यो अन्यायपूर्ण र अस्वीकार्य छ।” खनाल पक्ष अब पार्टी पुनर्गठनतर्फ अघि बढ्ने तयारीमा रहेको छ ।
एकीकृत समाजवादीभित्रको मतभेद नयाँ होइन । पार्टी गठनको सुरुदेखि नै माधव नेपाल र झलनाथ खनालबीच सैद्धान्तिक र संगठनात्मक द्वन्द्व चल्दै आएको थियो ।खनाल पक्ष ‘समाजवादी क्रान्ति’लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने पक्षमा थियो भने नेपाल पक्ष ‘जनताको बहुदलीय जनवाद (जबज)’लाई त्याग्न नहुने अडानमा रहँदै आएको थियो ।
यही विचारगत विभाजनका कारण पार्टीले आफूलाई स्पष्ट सैद्धान्तिक धारमा उभ्याउन कहिल्यै सकेन । त्यसमा युवासंघ र विद्यार्थी संगठनभित्र समानान्तर नेतृत्व अभ्यासले संगठनात्मक विभाजनलाई अझ गहिरो बनायो ।
महासचिव घनश्याम भूसाल र सम्मानित नेता खनाल दुबै जनाले एकताको निर्णयलाई अस्वीकार गरेका छन् । उनीहरूका अनुसार, माओवादी केन्द्रसँग हतारमा हुने एकता “संख्यात्मक मात्र” हो, सैद्धान्तिक आधार छैन ।
भूसालले यसअघि पनि पार्टी नेतृत्वमा चुनौती दिएका थिए । तर माधव नेपाल पक्षले तिनका मागहरू बेवास्ता गर्दै निरन्तर एकल निर्णय लिँदै आएको खनाल पक्षको आरोप छ ।
गत वर्ष सम्पन्न महाधिवेशनपछि माधव नेपालले खनाल पक्षधर नेताहरूलाई विभिन्न पदबाट हटाएका थिए — जसमा युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी अध्यक्ष आरती लामा प्रमुख छन् ।
त्यसपछि खनालले खुलेरै असन्तुष्टि जनाउँदै चेतावनी दिएका थिए । यही विवादको बीचमा नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अघि बढाएपछि अन्तरसंघर्ष पूर्ण फुटमा परिणत भयो ।
खनाल निकट नेताहरूका अनुसार, अब पार्टी पुनर्गठनको तयारी थालिएको छ ।यस पक्षमा घनेन्द्र बस्नेत, घनश्याम भूसाल, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, वंशीधर मिश्र, अमरबहादुर थापा, किसान श्रेष्ठ, दामोदर अर्याल, आरती लामा, हिरेन्द्र शाही, अर्जुन राई लगायत नेताहरू खुलेर उभिएका छन् ।
खनाल पक्षको दाबी छ — “केन्द्रीय कमिटीमा मात्रै डेढ सयजना सदस्य एकता विरोधी छन् । धेरै जनप्रतिनिधि कानुनी कारणले तत्काल खुलेर आउन नसके पनि पुनर्गठनको पक्षमा छन्।”
अध्यक्ष माधव नेपाल भने एकता प्रक्रिया रोक्न नहुने पक्षमा दृढ छन् । उनले भने, “यो निर्णय सुटुक्क वा व्यक्तिगत रूपमा गरिएको होइन, सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार वार्ता टोली बनाएर अघि बढिएको हो।”
नेपाल पक्षका उपाध्यक्ष जयन्ती राईले पनि एकतालाई “वाम पुनर्गठनको आधार” भनेर बचाउ गरेकी छन् । उनको भनाइमा, “यो वाम एकताको जग हो, जसले भोलि एमालेसम्म पनि एकता गर्ने बाटो खोल्छ।”



