काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सफल बनाउनका लागि सबै पक्षको सहयोग र साथ अनिवार्य रहेको बताएकी छन्।
शुक्रबार बिहान बालुवाटारस्थित सरकारी निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाट गर्दै उनले देशको राजनीतिक अवस्था, निर्वाचन तयारी र सरकारका काम–कारबाहीबारे विस्तृत छलफल गरेकी थिइन्। प्रधानमन्त्री कार्कीले भनिन्, “सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने मेरो मनसाय हो।
निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मा लगाएर बिदा हुने चाहना राखेकी छु।” उनका अनुसार, सरकार निर्वाचनको तयारीमा पूर्ण रूपमा केन्द्रित छ र आवश्यक वातावरण निर्माणका लागि अधिकतम प्रयास भइरहेको छ। उनले राजनीतिक दलबीच संवाद र सहकार्यको वातावरण क्रमशः मजबुत हुँदै गएको बताउँदै लोकतान्त्रिक प्रक्रियालाई सबैको सहभागितामार्फत अझ सुदृढ बनाइने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख उद्देश्य सुशासन कायम गर्दै निष्पक्ष र विश्वासिलो निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन्। उनले भनिन्, “सरकारको नीति कुनै पनि दललाई निषेध होइन, सबैलाई उत्साहपूर्वक निर्वाचनमा ल्याउने हो।” “म असहज परिस्थितिमा जिम्मेवारी सम्हालेकी हुँ।
आलोचनाबाट नडराई संविधान र लोकतन्त्रको मर्मअनुसार अघि बढ्नेछु,” प्रधानमन्त्री कार्कीले जोड दिइन्। सम्पादकहरूसँगको उक्त छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए।




