काठमाडौं,१५ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस काउन्सिल नेपालमा कुल ११७ उजुरी दर्ता भएका छन्। तीमध्ये २० वटा समाचार सामग्री पत्रकार आचारसंहिता विपरीत रहेको काउन्सिलको अनुगमनबाट खुलेको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार दर्ता भएका उजुरीमध्ये ५५ वटामा पत्राचार र खण्डन प्रक्रिया पूरा भई उजुरीकर्तालाई जानकारी दिइसकिएको छ। त्यसैगरी, १२ वटाले क्षमायाचना र भूलसुधार गरेका छन् भने ३ वटाले सामग्री स्थगन, ४ वटासँग स्पष्टीकरण माग, र १२ वटालाई निर्देशन तथा सचेत गराइएको छ। बाँकी ३१ उजुरी हाल प्रक्रियामा रहेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै १४ उजुरी दर्ता भएको काउन्सिलले जनाएको छ।त्यसमध्ये ११ सञ्चारमाध्यमलाई निर्देशन र सचेत गराइएकोमा ७ वटाले क्षमायाचना र सुधार गरेका छन्। एक समाचार एजेन्सीले क्षमायाचनासहित जवाफ पेस गरेको छ भने ३ वटाले कुनै प्रतिक्रिया नदिएकाले ताकेता गरिएको बोहराले बताए।
काउन्सिलले अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुवैमार्फत सम्प्रेषित सामग्रीको नियमित अनुगमन गरिरहेको छ। यस क्रममा दर्ता नभएका युट्युब च्यानल र अनौपचारिक सामाजिक सञ्जाल पेजहरूबाट प्रसारित समाचारहरूको पनि प्रवृत्तिगत अध्ययन भइरहेको काउन्सिलले जनाएको छ।
सहप्रवक्ता बोहराका अनुसार, यदि यस्ता माध्यमबाट प्रकाशित सामग्री आचारसंहिताविपरीत देखिएमा पहिलोपटक सचेत र भूलसुधार निर्देशन दिइन्छ। तर त्यसपछि पनि सुधार नभएमा सम्बन्धित निकायमार्फत थप अनुसन्धानको प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।
हालका दिनमा कतिपय सञ्चारमाध्यमले तथ्यपरक परीक्षणबिना भ्रामक सूचना सम्प्रेषण गरिरहेको गुनासो बढेको भन्दै बोहराले आचारसंहिताको अनुगमन अझ कडाइका साथ गर्ने तयारी भइरहेको बताए।उनका अनुसार, आचारसंहिता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन काउन्सिलका सदस्यहरूलाई ‘फोकल पर्सन’ का रूपमा तोक्ने निर्णय भएको छ, जसले देशभरबाट आउने उजुरी र अनुगमनलाई थप छरितो बनाउनेछ।



