बीरगन्ज,१५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले सशर्त तारेखमा छोडिएका ठगी मुद्दाका आरोपी संजय कुमार ठाकुर तोकिएको मितिमा हाजिर नभएको जनाएको छ। सर्लाहीको बलरा नगरपालिका घर भई बीरगन्ज बस्दै आएका ठाकुरलाई नगरपालिका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिम्मा लगाइएको थियो।
ठाकुरलाई स्काईलाइन महलमा जग्गा कारोबारमा वारेसनामासहितको अधिकार प्रत्यायोजन दिने व्यक्तिलाई प्रहरीमा उपस्थित गराउने शर्तमा साधारण तारेखमा छोडिएको थियो। तर, तोकिएको मितिमा उनले उक्त शर्त पूरा नगरेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।
डीएसपी बस्नेतका अनुसार, निखत परविन अंसारीलाई भारतबाट बीरगन्ज ल्याउन केही समय लाग्ने भएकाले कार्तिक १ गतेदेखि दैनिक हाजिरी लिन सुरु गरिएको थियो। तर, कार्तिक १० गतेसम्म अंसारीलाई उपस्थित नगराएपछि ठाकुरविरुद्ध कानूनी कारबाही अघि बढाइने उनले स्पष्ट पार्नुभयो।
ठगी मुद्दा अझै अनुसन्धानविहीन
संजय ठाकुरविरुद्ध आदर्शनगरका १६ जना जग्गाधनीले ठगीको जाहेरी असोज ३ गते दर्ता गरेका थिए। तर, यो मुद्दा हालसम्म अनुसन्धानको दायरामा आएको छैन। तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रको सरुवापछि ७ दिनमा ८५ वटा मुद्दा अध्ययन गरिएको र त्यसपछि मात्र ठगी मुद्दामा कारबाही अगाडि बढ्ने एसपी सुदीपराज पाठकले बताए।
जग्गा विवाद र भूमाफियाको आरोप
पीडित जग्गाधनीहरूका अनुसार, बीरगन्ज महानगरपालिकाले अधिग्रहण गरी बिक्री गरेको जग्गा प्रमाणित भए पनि ठाकुरले अवैध किचलो खडा गरिरहेको छ। आदर्शनगरका प्रदीप कुमार केडिया र सुनिल गुप्ताले भने, “न्याय प्रक्रिया निष्क्रिय हुँदा भूमाफिया र दलालको राज चलिरहेको जस्तो देखिन्छ। हाम्रो जग्गा स्पष्ट प्रमाणसहित भए पनि अवैध रूपमा दावी गरिएको छ।”
पीडितहरूले संजय ठाकुर र प्रदीप केडियाविरुद्ध प्रहरी तथा प्रशासनमा जाहेरी दर्ता भए पनि आवश्यक छानबिन नभएको र आरोपीहरू सशर्त तारेखमा छोडिनु राज्य निकायको निष्क्रियता भएको बताएका छन्।
पीडित जग्गाधनीहरूले बीरगन्जको आदर्शनगरस्थित स्काइलाइन महल, एनआईसी एशिया बैंक, नबिल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, पूजन होटल, कन्टिनेन्टल होटल, सरोवर होटललगायत विभिन्न संस्थाको जग्गामा किचलो खडा गर्ने केडिया समूहका प्रदीप केडिया र विचौलिया संजय ठाकुरलाई कानुनी कारबाहीबाट जोगाउन बीरगन्ज उद्योग वाणिज्य संघका नेतृत्व समेत लागेको आरोप लगाएका छन् ।
उक्त समूहले बीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्व समेत पाएको आरोप लगाउँदै भनेका छन् कि यसरी राज्य निकायले कारबाही नगर्दा भूमाफियाको काम चालू रहँदै आएको छ।यस घटनाले पर्सा प्रहरीको भूमिका र नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।




