बीरगन्ज,१५ कातिक । बीरगन्ज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलले आफ्ना बालबालिकाले जम्मा गरेको बचत रकम सार्वजनिक गरेको छ। विद्यालयले सानै उमेरदेखि नै बचत गर्ने बानी बसाल्नका लागि पि.जि., नर्सरी, एल.के.जी. र यु.के.जी. कक्षाका बालबालिकालाई तीन महिनाअघि खुत्रुके वितरण गरेको थियो।
शुक्रबार आयोजित कार्यक्रममा ती खुत्रुके फोडेर जम्मा रकम सार्वजनिक गरिएको थियो। बालबालिकाले खुत्रुकेमा जम्मा गरेको रकम रु ५ सयदेखि रु ९६ हजार ४ सय ५० सम्म पुगेको जानकारी दिइयो।
विद्यालयले सबैभन्दा बढी बचत गर्ने बालबालिकाका अभिभावकलाई प्रमाणपत्र प्रदान गरेको थियो भने अतिरिक्त रु १ हजार थप गरी रकम हस्तान्तरण पनि गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय कुमार बल, व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल, प्याब्सन बीरगन्ज अध्यक्ष राहुल श्रीवास्तव, वैष्णोदेवी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि रोशनी श्रेष्ठ, कर्जा शाखाकी लक्ष्मी चौधरी, सञ्चारकर्मी दिपु वणर्वाल र बालबालिकाका अभिभावकहरू उपस्थित थिए।




