रौतहट,१५ कात्तिक । रौतहट प्रहरीले कारागार र हिरासतबाट फरार भएका सहित विभिन्न आपराधिक मुद्दामा संलग्न चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, जेन–जी आन्दोलनपछि उत्पन्न अशान्त परिस्थितिको अवसरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट भागेका चन्द्रपुर–६ ठोकर टोलका पनिलाल दासलाई शुक्रबार पक्राउ गरिएको हो। उनी लागुऔषध (गाँजा) मुद्दाका फरार थुनुवा हुन्।
त्यस्तै, गौर कारागारबाट भागेका लागुऔषध सम्बन्धी मुद्दाका कैदी चन्द्रपुर–१ का २८ वर्षीय उमेश राना मगर पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए।
त्यसैगरी, जग्गा किर्ते प्रकरणमा संलग्न कटहरिया–१ का रामपुकार महतो कोइरी पक्राउ परेका छन्। उनले अदालतको फैसला र कागजात किर्ते गरी अरूको जग्गा गैरकानुनी रूपमा आफ्नै नाममा दर्ता गराएको आरोप छ।
यस्तै, ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा श्रीधन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरका एजेन्ट सुरेन्द्र साहलाई समेत प्रहरीले पक्राउ गरेको छ। गौर–८ निवासी साहले गाउँका सर्वसाधारणलाई आकर्षक नाफाको प्रलोभन देखाई एक वर्षे र ७८ महिने बचत योजना सञ्चालन गर्दै रकम संकलन गरेका थिए। सहकारी बन्द भएपछि साह फरार रहेका थिए।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



