spot_img

कटहरिया नगरपालिकामा करार कर्मचारीको तालाबन्दी चौथो दिनमा

spot_img
spot_img

रौतहट, ५ कार्तिक । रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको तालाबन्दी चौथो दिनमा समेत नउघ्रिएको छ। लामो समयदेखि बक्यौता तलब नपाएको भन्दै असन्तुष्ट कर्मचारीहरूले दोस्रो पटक नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सबै कार्यालयहरूमा तालाबन्दी गर्दै कार्य अवरुद्ध पारेका हुन्।

चार दिनदेखि निरन्तर कार्यालय बन्द हुँदा स्थानीयवासीहरू नागरिकता, दर्ता–प्रमाणपत्रदेखि विकाससम्बन्धी प्रशासनिक कामसम्मका सेवाबाट वञ्चित भएका छन्।

कर्मचारीहरूका अनुसार, प्रमुख प्रशासकीय अधिकृतले तलब वितरणको तयारी गरेको आश्वासन दिएको भए पनि हालसम्म कार्यान्वयन नभएको कारण आन्दोलन जारी राखिएको हो। उनीहरूका अनुसार, “बारम्बार आश्वासन पाउँदा पनि तलब नपाएपछि अब आन्दोलन नै अन्तिम विकल्प बनेको हो।”

नगर प्रमुख अजय प्रकाश जयसवालले भने प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकासा गर्न निर्देशन दिइसकेको दाबी गरे पनि प्रक्रिया अड्किएको बताएका छन्।

यसैबीच, कटहरिया–४ स्थित श्री दलित प्राथमिक विद्यालयमा पनि अभिभावकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। उनीहरूले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले पाँच वर्षदेखि आर्थिक विवरण सार्वजनिक नगरेको र तीन वर्षदेखि २७३ विद्यार्थीको छात्रवृत्ति वितरण नगरेको आरोप लगाएका छन्।

अभिभावकहरूले भनेका छन्, “हिसाबकिताब र छात्रवृत्ति वितरण नहुँदासम्म विद्यालय खोलिँदैन।” विद्यालयका प्रधानाध्यापक प्रभु महतोले आज इलाका प्रहरी कार्यालय कटहरियामा अभिभावकहरूसँग छलफल गरेर समस्या समाधानको प्रयास गर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय