लहान,१५ कातिक । लहान नगरपालिका–३ स्थित रामकुमार शारडा–उमाप्रसाद प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ। अस्पतालमा सेवा सुविधा र निरन्तर निगरानी भएको कारण, आसपासका विराटनगर र धरान जाने बिरामीहरू यहीँ उपचार गराउन थालेपछि स्थानीयहरूको विश्वास बढेको छ।
अस्पतालमा स्तरोन्नति भएसँगै आधुनिक ल्याब, डाइलोसिस सेवा, विभिन्न विभागका चिकित्सक र कुशल मेडिकल सुपरिटेन्डेन्टको सक्रियताले दिनहुँ ३०० भन्दा बढी बिरामीको जाँच हुने गरेको छ।
तर, अस्पतालको भौतिक निर्माण विस्तार रोकिएको छ, किनभने अस्पतालको जग्गा रजिष्ट्रेशन अझै पूरा भएको छैन। अस्पताल निर्माणका दाता परिवार रामकुमार शारडा र उमाप्रसाद मुरारकाको तर्फबाट मुरारीलाल मुरारले जग्गा रजिष्ट्रेशनका लागि पहल गरेका छन्। तर लाभकर एक करोड ३५ लाख लाग्ने भएपछि संघीय सरकारले मिनाहाको निर्णय नदिँदा प्रक्रिया रोकिएको छ।
प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले संघीय सरकारसँग मिनाहा दिलाउन पहल भइरहेको र सर्वदलीय सहकार्य आवश्यक रहेको बताएका छन्।
अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताका अनुसार, जीर्ण भवन मर्मत, नयाँ भवन निर्माण, चिकित्सक आवास, सीटी–स्क्यान सञ्चालन लगायतका कार्य अघि बढाउन जग्गा रजिष्ट्रेशन अनिवार्य रहेको छ।




