जनकपुर,१५ कात्तिक । धनतेरस अघिमात्र जनकपुरधामको सुनचाँदी बजारमा प्रहरीले गरेको छापा र त्यसपछि भएको विवाद झनै उग्रिएपछि व्यापारीहरू सडक आन्दोलनमा उत्रिएका छन्। प्रहरीको ‘अत्यधिक बल प्रयोग’ का कारण जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएको घटनापछि व्यापारीहरूले चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका हुन्।
सङ्घले घटनाको निष्पक्ष छानबिन, दोषी प्रहरीलाई कारबाही र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न तत्कालीन पहल गर्न माग गरेको छ। पहिलो चरणअन्तर्गत व्यापारीहरूले कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गर्न थालेका छन् भने बजारका पसलहरूमा कालो झण्डा झुन्ड्याइएको छ। यो कार्यक्रम कार्तिक १७ गतेसम्म जारी रहनेछ।
धनतेरसको पूर्वसन्ध्यामा ‘अवैध सुनचाँदी कारोवार’ को सूचनाका आधारमा प्रहरीले बजारमा छापा मारेको थियो। छापादरम्यान ७ किलो चाँदी नियन्त्रणमा लिएको जनाइएको छ। तर व्यापारीहरूले प्रहरीको नाममा ‘चाँदी लुटपाट’ भएको आरोप लगाउँदै प्रतिरोध गरेपछि स्थिति तानाबाना बढेर झडपसम्म पुगेको थियो।
पहिलो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए कार्तिक १८ गतेदेखि दोस्रो चरणको कडा संघर्षमा उत्रने सङ्घले चेतावनी दिएको छ। दोस्रो चरणमा नगर परिक्रमा, दिउँसो पसल बन्द, जनक चोकमा कोणसभा तथा पत्रकार सम्मेलनजस्ता कार्यक्रम गरिने जनाइएको छ।



