काठमाडौँ,१६ कातिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर मौसममा परिवर्तन देखिएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ भने बाँकी प्रदेशमा मौसम प्रायः सफा रहनेछ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा भने आंशिक बदली रहनेछ।
राति पनि यिनै प्रदेशका पहाडी र हिमाली भूभागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्।
महाशाखाले हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र तापक्रम घट्ने सम्भावनाका कारण जनजीवनमा सावधानी अपनाउन सुझाव दिएको छ।




