बीरगन्ज,१६ कातिक । देशकै सबैभन्दा ठूलो भन्सार कार्यालय बीरगन्जमा अब डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन प्रणाली औपचारिक रूपमा लागू गरिएको छ। शनिबार (कात्तिक १५ गते)देखि उक्त प्रणालीमार्फत मूल्याङ्कन कार्य सुरु भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
नयाँ प्रणालीको औपचारिक शुभारम्भ अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन्। यसअघि विराटनगर भन्सार कार्यालयमा परीक्षणका रूपमा यो प्रणाली सञ्चालन गरिएको थियो, जहाँ सफल परिणाम आएपछि यसको विस्तार वीरगन्ज भन्सारसम्म गरिएको हो।
भन्सार मूल्याङ्कनमा पारदर्शिता र एकरूपता ल्याउने उद्देश्यले लागू गरिएको यो प्रणालीले वास्तविक आयात मूल्य र भन्सार मूल्यबीचको फरक घटाउने, लेखापरीक्षणका समस्या कम गर्ने तथा मूल्याङ्कनका कारण हुने भन्सार चुहावट रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार निकट भविष्यमा यो प्रणाली देशका अन्य प्रमुख भन्सार कार्यालयहरूमा पनि विस्तार गर्ने तयारी गरिएको छ।




