काठमाडौं,१६ कात्तिक । बाढी र पहिरोका कारण तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको बीपी राजमार्गमा आज बिहानदेखि गाडीहरू चल्न थालेका छन् ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा–नेपालथोक सडकखण्ड का विभिन्न स्थानमा खसेको पहिरो तथा लेदो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । अवरोध हटेका स्थानमा तत्कालका लागि ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालन गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेश ले जानकारी दिए ।
इञ्जिनियर योगेशका अनुसार, विशेषगरी काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेँसी मा करिब ५० मिटरको डाइभर्सन बनाएपछि राजमार्ग खुलेको हो । उनले सुक्खा पहिरो ले गर्दा अवरोध पन्छाउन केही समस्या भएको बताए । रोशी–१२ माम्ती क्षेत्रमा समेत सुक्खा पहिरो खसिरहेकाले शनिबार अवरोध पन्छाउन गाह्रो भएको थियो । ‘सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ’ उनले भने ।

यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गका विभिन्न सडकखण्डमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले बिहीबार रातिदेखि यस मार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, बिरुवाडाँडा, डालाबेँसी, नार्के, चारसयबेँसी र घुमाउने लगायतका स्थानमा ठूलो क्षति पुगेको थियो ।
गत वर्षको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । इञ्जिनियर योगेशका अनुसार, त्यसपछि खोलामा अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । कुल १६० किलोमिटर को यस राजमार्गको तेस्रो खण्ड (खुर्कोटबाट नेपालथोकसम्म) र चौथो खण्ड नेपालथोकबाट धुलिखेलसम्म मा बढी क्षति पुगेको छ ।
सडक कार्यालयले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माण का लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ । पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको यस राजमार्गमा दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्ने गर्छन् ।




