काठमाडौं,१६ कातिक । सुरक्षण मुद्रण केन्द्रले भोलि (सोमबार)देखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गर्ने भएको छ। यातायात व्यवस्था विभागका अनुसार प्रारम्भिक चरणमा दैनिक कम्तीमा ५०० थान लाइसेन्स छापिनेछ।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार छपाइ कार्य बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमार्फत हुनेछ र छपाई भएको कार्ड विभागले सेवा प्राप्तकर्तालाई वितरण गर्नेछ।
हाल करीब २५ लाख ड्राइभिङ लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ। तीमध्ये १२ लाख कार्ड सुरक्षण मुद्रण केन्द्रले ३ देखि ६ महिनाभित्र छापेर विभागलाई बुझाउने योजना छ।

अब लाइसेन्समा चिप हटेर क्युआर कोड
अब छापिने लाइसेन्स स्मार्ट कार्डकै रूपमा रहनेछ तर यसमा चिपको सट्टा क्युआर कोड प्रयोग हुनेछ। सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार क्युआर कोडबाट डाटा भेरिफिकेशन र सेवा पहुँच थप सरल हुनेछ।
लाइसेन्स छपाइ लागत विभागले नै व्यहोर्नेछ। एक थान लाइसेन्स छाप्न करबाहेक करीब रु. १९५.१७ लागत पर्ने अनुमान गरिएको छ। सोही अनुसारको बजेट केन्द्रलाई उपलब्ध गराउने सहमति दुवै संस्थाबीच भएको छ।
अन्य सेवा सुरु गर्न प्राविधिक परीक्षण
लाइसेन्स छपाइका लागि गत बुधवार विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। विभागले सर्भर, डेटा तथा आवश्यक प्राविधिक परीक्षण तीव्र गतिमा गरिरहेको छ। “प्राविधिक परीक्षण अन्तिम चरणमा छ, परीक्षण सकेपछि अन्य सेवा कति छिटो सुरु गर्न सकिन्छ भन्ने स्पष्ट हुनेछ,” निर्देशक तिवारीले बताए।
जेनजी आन्दोलनपछि रोकिएको सेवा
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी र तोडफोड भएपछि लाइसेन्स छपाइ मेसिन पूर्ण रूपमा नष्ट भएको थियो। त्यसयता सेवा ठप्प हुँदा वैदेशिक रोजगारीमा जाने युवा र अत्यावश्यक लाइसेन्स चाहिने सेवाग्राही मारमा परेका थिए।
अब भने विभागले रोकिएको सेवा पुनः सुरु गर्दै क्रमिक रूपमा अन्य सेवासमेत प्रदान गर्ने तयारी गरेको छ।




