spot_img

कांग्रेस महामन्त्रीहरूले महाधिवेशन र निर्वाचनमा छुट्टाछुट्टै निर्णय अस्वीकार गरे

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको ‘पहिला निर्वाचनमा जाने’ प्रस्ताव अस्वीकार गरेका छन्।

आइतबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसेको कार्यसम्पादन समिति बैठकमा खड्काले सबैको सहमतिमा चुनावमा जाने विषय केन्द्रीय समितिबाट अघि बढाउने प्रस्तव राखेका थिए। संस्थापन पक्षका नेताहरूले समर्थन गरे पनि महामन्त्री थापा र शर्माले स्वीकार्नुभएन।

महामन्त्रीहरूका अनुसार महाधिवेशनको कार्यतालिका र निर्वाचन दुवै विषयमा एउटै समयमा निर्णय हुनुपर्छ, छुट्टाछुट्टै निर्णय स्वीकार्य छैन। यसै कारण कार्यवाहक सभापतिले आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबारसम्म स्थगित गरेका छन्।

कांग्रेसभित्र महाधिवेशनको मितिबारे विवाद जारी छ। इतर समूह र महामन्त्री थापाले मङ्सिरभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने तर्क राखेका छन् भने महामन्त्री शर्माले वैकल्पिक रूपमा पुस १६–१९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। संस्थापन पक्षले भने प्रतिनिधिसभा निर्वाचनपछि फागुन २१ गते महाधिवेशन गर्ने प्रस्ताव राख्दै आएका छन्।

यसैबीच, विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेका छन्। पार्टीभित्र मध्यमार्गी समाधान खोज्ने प्रयास अहिले पनि जारी छ। सहमहामन्त्री बद्री पाण्डेका अनुसार, ‘महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउने प्रयास भइरहेको छ।’

पार्टीभित्र असमझदारी नटुंगिएपछि शुक्रबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो र आइतबारसम्मको छलफलले पनि सहमति नजुटेपछि बैठक मंगलबारसम्म सारिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय