जनकपुर,१७ काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटारमा बोलाएर महत्वपूर्ण राजनीतिक र प्रशासनिक विषयमा छलफल गरेकी छन्। छलफलमा आगामी निर्वाचन तयारी, सरकारको प्राथमिकता निर्धारण, विश्वासको वातावरण निर्माणलगायत विषयमा विस्तृत रूपमा चर्चा गरिएको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्रीसँग भएको छलफलबारे जानकारी दिँदै चार प्रमुख विषय उठाएको बताए।
उनका अनुसार पहिलो विषय संघीय सरकार र प्रदेशबीच सहकार्य र चुनावको तयारीसँग सम्बन्धित थियो। “चुनाव गर्नुपर्छ भन्नेमा हामी सहमत छौं,” सोनलले भने, “तर त्यसका लागि भयमुक्त वातावरण बनाउन, दलहरूसँग सहकार्य गर्न र सुरक्षा निकायको मनोबल उच्च राख्न आवश्यक छ।”

दोस्रो विषयका रूपमा उनले जेन–जी आन्दोलनको प्रसंग उठाए। “त्यो आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति भयो,” उनले भने, “संघीय सरकारले त्यसका लागि विशेष क्षतिपूर्ति प्याकेज ल्याउनुपर्छ। श्रद्धाञ्जली र सम्मान मात्र होइन, ठोस पुनःस्थापना कार्यक्रम आवश्यक छ।”
तेस्रो विषय किसानको समस्या थियो। सोनलले भने, “कहिले सुक्खा, कहिले अनावृष्टि र कहिले अतिवृष्टिले किसान मर्कामा छन्। अहिले किसानलाई संघीय सरकारले विशेष प्याकेजमार्फत सहयोग गर्नुपर्छ।”
चौथो विषयमा उनले प्रदेश सरकारको बजेट कटौतीको प्रयासबारे चासो व्यक्त गरे। उनका अनुसार संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई पठाएको खर्च कटौती सम्बन्धी पत्र व्यवहारिक छैन। “प्रदेशको बजेट मापदण्डअनुसार बनाइन्छ जनसंख्या, भूगोल र मानव विकास सूचकांकका आधारमा। त्यसैले कुनै पनि बहानामा बजेट काट्नु अस्वीकार्य छ,” सोनलले भने।
प्रधानमन्त्री कार्कीले सोनलको सबै सुझावलाई सकारात्मक रूपमा लिएकी बताइएको छ। “प्रधानमन्त्रीजीले बजेट कटौती हुँदैन र चुनावको तयारीमा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो,” सोनलले जानकारी दिए।
बैठक लामो समयसम्म चलेको र आगामी निर्वाचनका लागि साझा रणनीतिबारे पनि छलफल भएको उनले बताए। आन्दोलन पुनःउत्पन्न हुने सम्भावना र त्यस परिस्थितिमा प्रदेश सरकारको भूमिकाबारे प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, “म लामो समय यो पदमा बस्ने होइन। मेरो म्याण्डेट चुनाव सम्पन्न गराउनु हो, जनता जसलाई म्याण्डेट दिन्छन्, त्यसैलाई अगाडि बढाउँछु।”
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचको यो बैठक आगामी निर्वाचन र संघ–प्रदेश सहकार्यको दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।




