spot_img

राष्ट्रपति पौडेल आज कतार प्रस्थान गर्दै

spot_img
spot_img

काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दै छन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुने कार्यक्रम छ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा जाँदै छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। “सम्मेलनको क्रममा उनले सामाजिक समावेशिता, दिगो विकास र विश्व सहकार्यमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्,” सचिव राईले बताए।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार तीस वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन सन् १९९५ मा पहिलो पटक डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो।

दोहा बसाइका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित अन्य वरिष्ठ व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ।

सामाजिक विकासका विषयमा केन्द्रित यो सम्मेलनले विश्वका मुलुकहरूबीच सहकार्य, समावेशी नीतिहरू र साझा प्रतिबद्धता सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय